बाल विवाहको एक कारक ‘शक्तिहीन सुसूचित’

कलिलैमा विवाह : जोखिममा आमा र बच्चा - नारायण अधिकारी :: Swasthya Khabarpatrika

‘चाइल्ड म्यारिज’ (बालविवाह) लाई चाहिँ ‘चाइल्ड फोर्स अर्ली म्यारिज’ भनेर बुझ्ने गर्छु। चाइल्ड म्यारिज हुनुका पछाडि विभिन्न कारण छन्। आमा–बाबुको प्रेसरदेखि सामाजिक कुराहरु जोडिएर आएका हुन्छन्। 

विशेषगरी बाल विवाहमा दुई वटा कुरा देखिन्छन्, गरिबी र सामाजिक सोच। सामाजिक सोच धर्मसँग जोडिएको हुन्छ। दाइजोका कुराहरुसँग जोडिएको हुन्छ। लैंगिक भूमिका अर्थात् जेन्डर रोलसँग जोडिएको छ।

हाम्रो समाजमा यौन सम्बन्धलाई हेर्ने तरिका, परिवारको इज्जत महिलामा केन्द्रित गराएको अवस्था लगायत कारणहरु पनि बालविवाहमा जोडिएर आएका छन्। कतिपय ठाउँहरुमा त खुलेर यहाँ चाइल्ड म्यारिजको कुप्रथा छँदैछ भनेर भनिराखिएको हुन्छ।त्यो चाहिँ देखिएको कुरा मात्रै हो। चाइल्ड म्यारिज किन छ भनेर अलि भित्र छिरेर हेर्दा के देखिन्छ भने, घरमा कोही बिरामी भयो काम गर्ने मान्छे चाहिएको छ, त्यसपछि के गर्ने? विवाह गरेर बुहारी ल्याउने। अझ जति सानो उमेरको ल्यायो उति काम लगाउन सजिलो हुन्छ। घरको पारिश्रमिक बिनाको सेवामुलक कार्यमा बालविवाह भएको देखिन्छ। तराईमा भने उमेर बढी भयो भने दाइजो बढी दिनुपर्ने अवस्थामा बालविवाह भएको पाइन्छ। 

अर्को भनेको गरिबी हो। घरमा खान छैन, अब के गर्ने? बुहारी ल्याउँदा उसले केही रकम ल्याउँछ र परिवार पाल्न सजिलो हुन्छ भन्ने सोच पनि छ। अर्को भनेको अन्धविश्वास हो। जति चाँडो आफ्नी छोरीलाई विवाह गरे पठाइदियो, त्यति धेरै पुण्य कमाइन्छ भन्ने अन्धविश्वासका कारण पनि चाइल्ड म्यारिज भएको देखिन्छ।

तर, अहिले रिसेन्ट टाइममा चाहिँ के पनि देख्न थालिएको छ भने, छोरीहरुलाई लामो समयसम्म घरमा राखिराख्यो भने भागेर पो विवाह गर्छन् कि, गतिछाडा पो हुन्छ कि, यसले गर्दा परिवारको इज्जतमा खलल पो हुन्छ कि भन्ने डर पनि चाइल्ड म्यारिजको कारक बनेको देखिन्छ। 

परिपक्वता नभएको, युथको बेलाको हर्मोनल चेन्जसँग जोडिएर त्यो प्रेममा पर्‍यो भन्ठानेर अथवा परेरै त्यसको सामाधान विवाह गरेर हुन्छ भन्ठानेर कलिलैमा भागी विवाह गरेको पनि देखिन्छ।

तर, त्यहाँनेर केटा र केटी पनि साथी हुन सक्छन् है, उनीहरु साथी हुँदैमा परिवारको इज्जत जाँदैन है, त्यो किशोरीको इज्जत जाँदैन है भन्ने खालको बुझाइ हुन्थ्यो भने सायद उनीहरु कलिलैमा भागेर विवाह गर्दैनथे होलान्। भनेपछि कहिले हाम्रो समुदाय त्यो विचारले ओपन हुने? हाम्रा आमा–बुवाहरुले कहिले किशोर–किशोरीलाई त्यो हिसाबले ओपन रुपमा बाँच्न दिने?

जाजरकोटकै कुरा गर्ने हो भने त्यहाँ अरु अप्सन पनि छैन। स्कुल जाम, पढौं भन्यो भने घर नजिक ५ कक्षासम्म मात्रै स्कुल छ। पढ्नका लागि कि खलंगा, सुर्खेत कि नेपालगञ्ज गएर डेरा लिएर बस्नुपर्ने अवस्था छ। घरमा बस्दा घरको काम बाहेक अरु के गर्ने? इन्गेज हुने माध्यम पनि देखिँदैन। अनि घरमै अर्थात् आँखै अगाडि उनीहरुले बालविवाह भएको देख्छन्। सरकारबाट चलाउनुपर्ने बालविवाह विरुद्धको अभियान पनि म्यासिभ रुपमा भएको हुँदैन।

प्रभावकारी म्यासेज गएको छैन। अनि हिजो जे देख्यो, त्यही कुरा न सिक्ने हो। अनि त्यही बाल विवाहको परम्परालाई निरन्तरता दिइएको देखिन्छ। यो निकै दुःखदायी घटना हो। चाइल्ड म्यारिज कहाँ बेसी हुन्छ भनेर हेर्‍यो भने त्यहाँ, गरिबी, दुर्गम, दलित समुदायहरु जोडिएर आउँछन्।

अर्कोतर्फ, हामीले सुसूचित गराइराखेकै छौं तर किन घटेन चाइल्ड म्यारिज भन्छौं। सुसूचित हुनु मात्रै समाधान होइन।

हिजोका दिनबाट आजको दिनमा तुलना गर्‍यो भने पक्कै धेरै फरक छ। बालविवाह गर्नुहुँदैन, यसले गर्दा विभिन्न असर गर्छ भनेर सुसूचित भएको देखिन्छ। तर त्यतिले मात्रै बालविवाह घटनाउन पर्याप्त हुँदैन। 

सुसूचित भएको व्यक्तिलाई सपोर्ट गर्ने किसिमको सामाजिक संरचना हुनुपर्छ। यसमा परिवार, छर–छिमेक, समुदाय तथा राज्यको भूमिका जोडिएर आउँछ।

सानो उमेरमा विवाह गर्नु हुँदैन भनेर कोही सुसूचित छ तर शक्तिवान छैन। उसको बाबु–आमाले सुसूचित हुँदाहुँदै पनि हाम्रो धार्मिक कारण, समाजिक कारणले गर्दा विवाह गर्नुपर्छ भनेर मलाई फोर्स गर्छ भने म शक्तिविहीन सुसूचित मान्छेको विवाह गर्नुको विकल्प हुन्छ र? सुसूचित तर शक्तिहीन भएका कारण पनि बालविवाह भएको देखिन्छ।

जसका कारण सुसूचित भएर मात्रै पुग्दैन, समाजको हरेक तह र तप्काले आफ्नो भूमिका अनुसार कमिटेड भएर कलेक्टिभ्ली काम गर्नुपर्ने मुद्दा हो यो।