रणनीतिक साझेदार संस्थाको रूपमा काम गर्नको लागि इच्छा–पत्र

रणनीतिक साझेदार संस्थाको रूपमा काम गर्नको लागि इच्छा–पत्र आव्हान गरिएको

प्रकाशित मिति: २०८०/०६/१९

केयर नेपाल विगत ४५ वर्षदेखि नेपालमा मानवीय सहायता, सामाजिक अन्यायका अन्तर्निहित कारणहरूको सम्बोधन, विभेदपूर्ण सामाजिक मूल्य मान्यता र प्रचलनको सकारात्मक रूपान्तरण, गरिबीको अन्त्य र सामाजिक न्याय प्राप्तिका लागि वञ्चितीकरणमा परेका महिला तथा किशोरीहरूसँग विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको एक अग्रणी अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो । साथै केयर नेपालले समावेशी विकासको प्रर्वद्धनका लागि नागरिक समाजका संस्थाहरू, सामाजिक अभियानमा आधारित संस्थाहरूसँग सहकार्य र साझेदारी मार्फत काम गर्दै आइरहेको छ । 

केयर नेपालले विविध नागरिक समाज संस्थाहरू र समाजिक अभियानमा आधारित सञ्जालमा आबद्ध रही संगठीत प्रयास गर्दा सार्वजनिक नीति, निजी क्षेत्रको अभ्यास र सामाजिक मान्यताहरूमा परिवर्तन ल्याउन राष्ट्रिय तथा अन्तराष्ट्रिय  रूपमा प्रभाव पार्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गरेको छ। केयर नेपालले स्थानीय संस्थाहरूले आफ्नो सवालहरूको नेतृत्व गर्नको लागि र सवालहरूमा एक्यबद्धता प्रर्बद्दनका लागि विविध संस्थाहरूलार्इ सञ्जालमा समेटेर “साझेदार संस्थाहरूको सञ्जाल (Network of Partners)” नामक साझेदारी कार्यपद्वतिलार्इ प्राथमिकता दिएको छ।

केयर नेपालले साझेदार संस्थाहरूको सञ्जालमा आफ्नो प्रभाव समूहहरूका (महिला तथा किशोरीहरू) सवालहरूलार्इ प्रतिनिधित्व गर्ने संस्थाहरू र उनीहरूसँग सम्बन्धित सवालहरूः– १) गुणस्तरिय शिक्षामा वञ्चितीकरणमा परेका किशोरीहरूको पँहुचमा अभिवृद्दि, २) गुणस्तरिय प्रजनन् मातृ नवजात शिशु बाल र किशोर किशोरी स्वास्थ्यमा समतामूलक पँहुच, ३) महिला तथा लैंगिक अल्पसँख्यक वर्गको राज्य संरचनाका सबै तहमा समानुपातिक पँहुच र नेतृत्व, ४) बाल विवाहको अन्त्य, ५) भूमि तथा आवास अधिकार , ६) अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकहरूको सम्मानजनक कामको सुनिश्चितता, ७) प्राकृतिक श्रोतको उपयोग र संरक्षणमा सिमान्तकृत वर्गको समान पँहुच र अधिकार, ८) मानवीय सहायताको स्थानीयकरण र महिला नेतृत्व, ९) यौनजन्य तथा लैंगिक हिंसा रोकथाम, १०) जलवायू न्याय, ११) महिला तथा किशोरीहरूको नेत्तृत्व, उद्यमशीलता तथा वित्तीय सेवामा पँहुच तथा १२) खाद्य सम्प्रुभता लगायतका सवालहरूमा नीति निर्माण तहमा प्रभाव पार्नको लागि विभिन्न संस्थाहरूसँग रणनीतिक साझेदारी मार्फत काम गर्दै आर्इरहेको छ। माथि उल्लेखित विषयगत सवालहरूमा थप सहकार्य गर्नका लगि उक्त सवालहरूमध्ये कुनै एक सवालमा स्थानीय, प्रदेश वा राष्ट्रिय स्तरमा  पहिचान र मान्यता प्राप्त गरेको अनुभवी नागरिक समाज संस्थाहरू वा  समाजिक अभियानमा आधारित संस्थाहरूबाट साझेदार संस्थाहरूको सञ्जालमा आबद्ध भर्इ रणनीतिक साझेदारका  रूपमा काम गर्न  इच्छुक न्यूनतम मापदण्ड पुरा गरेका सामाजिक संस्थाहरूको लागि यो इच्छा–पत्र आव्हान गरिएको छ । 

इच्छा–पत्र पेस गर्ने संस्थाहरूको लागि न्यूनतम मापदण्डहरू

  • मुनाफा रहित, गैर राजनीतिक र सामाजिक संस्थाको रूपमा प्रचलित कानुन बमोजिम दर्ता भई वार्षिक रूपमा नवीकरण भएको ।
  • समाज कल्याण परिषदमा आबद्धता भएको र कम्तीमा  चालु आ.व. २०८०/८१ सम्मका लागि संस्था नवीकरण भएको प्रमाण पत्र ।
  • नेपाल सरकार आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नं. लिएको ।
  • प्रत्येक वर्ष नियमित रूपमा लेखा परीक्षण गराई प्रतिवेदन सम्बन्धित निकायमा नियमित रूपमा पेस गरेको ।
  • सम्बन्धित आन्तरिक राजस्व कार्यालयबाट  प्राप्त स्थायी लेखा नं. र गत आ.व. २०७९/८० सम्मको कर चुक्ता प्रमाण पत्र ।
  • गत तीन आर्थिक वर्षको लेखा परीक्षण गराएको र सो को प्रतिवेदन उपलब्ध भएको ।
  • महिला तथा किशोरीहरूलार्इ वास्तविक रूपमा प्रतिनिधित्व गर्ने संस्थाहरू वा  उनिहरू सँग सम्बन्धित सवालहरूमा काम गरेको अनुभव भएको ।
  • माथि उल्लेखित सवालहरू मध्ये कम्तीमा कुनै एक सवालमा ३ वर्षको कार्य अनुभव भर्इ राष्ट्रिय स्तरमा पहिचाहन हासिल गरेको र सम्बन्धित सवालमा विभिन्न सरोकारवाला निकायबाट मान्यता प्राप्त भएको ।
  • सम्बन्धित सवालमा  केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेको र निति निर्माण तहमा प्रभाव पारेको अनुभव भएको ।
  • संस्थाको रणनीतिक वा आवधिक योजना रहेको र उक्त योजनामा माथिका सवालहरू मध्ये कुनै एक क्षेत्रमा काम गर्ने विषय उल्लेख भएको ।
  • संस्थाको आर्थिक, प्रशासनिक र मानव संसाधनको प्रभावकारी व्यवस्थापन र परिचालन साथै भ्रष्टाचार, आर्थिक अनियमितता तथा स्रोत साधनको दुरुपयोगको नियन्त्रण प्रयोजनको लागि आवश्यक पर्ने नीति, नियम, मापदण्ड तथा मार्गदर्शन तयार गरी लागु गरेको ।
  • संस्थाको कार्यसमिति, कर्मचारी, सदस्यहरूको संरचनामा लैङ्गिक तथा सामाजिक समावेशीकरणको अभ्यास भएको । महिलाहरू वा अन्य सिमान्तकृत समुदायले नेतृत्व गरेको संस्थाहरूलार्इ  प्राथमिकता दिइने छ ।
  • संस्थाले काम गर्ने समुदायको सुरक्षा र मर्यादित कार्यस्थलको सुनिश्चितता लागि यौन उत्पीडन, यौनजन्य दुर्व्यवहार एवं शोषण विरुद्ध सुरक्षा, बाल संरक्षण सम्बन्धी सुरक्षा नीति (safe guarding), निर्देशिका, मार्गदर्शन, मापदण्ड र गुनासो तथा पृष्ठपोषण सुनवाइ एवं सम्बोधन सम्बन्धी संयन्त्र तयार गरी लागू गरेको।  

यसरी इच्छा–पत्र पेस गर्दा तोकिए बमोजिमका न्यूनतम मापदण्ड पुरा भएको पुस्ट्याइँ हुने प्रमाण संलग्न गरी उल्लेखित सवालहरू मध्ये आफूले आवेदन दिन चाहेको कुनै एक सवाललार्इ प्रष्ट उल्लेख गरी यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र अर्थात मिति २०८०/०७/९ गते ५:०० बजे भित्र निम्न ठेगानामा प्राप्त हुने गरी आवेदन पेश गरी सक्नु पर्नेछ ।

आवेदनका लागि आवेदन फाराम तथा न्यूनतम मापदण्ड सहित यस र्इच्छापत्रको विस्तृत विवरण केयर नेपालको वेबसाइट https://www.carenepal.org/calls/ मार्फत प्राप्त गर्न सकिने छ । न्यूनतम मापदण्ड पुरा गर्ने आवेदक संस्थाहरूलाई छनौट प्रक्रियाको दोश्रो चरणको मूल्यांकन प्रक्रियामा समावेश गरिने छ । रित नपुगेका एवं तोकिएको मिति भन्दा पछि प्राप्त भएका आवेदनहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन ।

केयर नेपालले प्रतिस्पर्धात्मक विधिबाट रणनीतिक साझेदार स्थानीय संस्था छनौट गर्दछ र छनौटको चरणमा कुनै पनि प्रभाव पार्ने प्रयास गरिएमा त्यस्तो संस्थाको आवेदनलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । यस सम्बन्धी थप जानकारी चाहिएमा केयर नेपालको ललितपुरस्थित राष्ट्रिय कार्यालयको टेलिफोन नं. ०१–५४२२८०० मा सम्पर्क गर्न सकिने छ।

केयर नेपालले रणनीतिक साझेदार छनौट गर्ने प्रक्रियामा महिला नेतृत्व प्रबर्द्धनमा क्रियाशील रहेका संस्थालाई विशेष प्राथमिकता दिने छ ।

आवेदन बुझाउने ठेगाना  

केयर नेपाल, घर नं. ७७७/३४ झम्सिखेल, ललितपुर, नेपाल, पोस्ट बक्स नं. १६६१, वा इमेल ठेगाना npl.carenepal@care.org मा बुझाउन सकिने छ ।

द्रष्टव्य: यस सूचना बमोजिमको इच्छा-पत्र आह्वान सम्बन्धी छनौट प्रक्रियाहरू कारण देखाई वा नदेखाई आंशिक वा पूर्ण रूपमा स्थगन वा रद्द गर्ने अधिकार केयर नेपालमा निहित रहेको छ ।